×

प्रधानमन्त्री प्रचण्ड बैशाख १ गते भारत भ्रमणमा जाने

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी बैशाख पहिलो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय पक्षले त्यसको लागि अनौपचारिक रुपमा निमन्त्रणा दिइसकेको स्रोतको दाबी छ ।

पहिलो विदेश भ्रमणको लागि यसअघि नै चीनबाट आएको निमन्त्रणालाई लत्याउँदै प्रधानमन्त्री दाहाल पहिलो विदेश भ्रमणको लागि भारत जान लागेका हुन् ।

आज (सोमबार) संसद्मा विश्वासको मत पाएपछि प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको मितिबारे सोधिएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले चैत्रको अन्तिम साता वा बैशाखको पहिलो साता जाने स्पष्ट जवाफ दिए ।

भारतीय पक्षले पनि भ्रमणको तयारी सुरु भैसकेको जनाएको छ । यसअघि नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पनि प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो दिएका थिए ।

तर, मिति भने तय भएको थिएन । प्रधानमन्त्री दाहालको सचिवालयले पनि भारत भ्रमणको तयारी सुरु भएको जनाएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज÷भोलिभित्रै प्रधानमन्त्री दाहाललाई भेटेर भारत भ्रमणको निम्तो दिने तयारी गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले यो साता मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । 

सोमबार ६ चैत २०७९ ०७:५४ PM मा प्रकाशित

प्रतिक्रिया