×

समाचार संकलनमा जाँदा मेनपावर सञ्चालकबाट अवरोध भएको भन्दै पत्रकारहरु मिडियामा

images

काठमाडौं । आमनेपाली टेलिभिजन र यात्रा टेलिभिजनमा कार्यरत पत्रकारहरुले सिनामंगलमा रहेको टार्गेट म्यानपावरले समाचार संकलनमा अवरोध गरेको र पत्रकारमाथि हातपात गरेको भन्दै दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो माग गरेका हुन् । आम नेपाली टेलिभिजनका सञ्चालक रहेका सबिन मल्लले सो मेनपावरबाट पीडित भएर एक पुरुषकी दिदी सरस्वती लुहार आफ्नो टेलिभिजन कार्यालयमा आएर मेनपावरबाट पाएको पीडाको बारेमा जानकारी दिएको र न्यायका लागि पहल गरिदिन आग्रह गरेकोले आफूहरुले समाचार संकलन गर्न खोजेको स्मरण गराए । तर, समाचार संकलनको क्रममा मेनपावर सञ्चालकबाट पत्रकारमाथि दुव्र्यवहार भएको उनको आरोप छ ।

लुहारको कुरा सुनेपछि टेलिभिजनमा कार्यरत पत्रकारहरुले स्वयं लुहारलाई सँगै लिएर सो विषयमा हिजो (बिहीबार) मेनपावरको कार्यालय रहेको सिनामंगलमा बुझन् जाँदा मेनपावर सञ्चालकहरुले आफूहरुको क्यामेरा फुटाएको र अभद्र ब्यवहार गर्दै बाहिर लखेटेको उनको आरोप छ ।
यस्तै, पीडितकी दिदी रहेकी लुहारले सो मेनपावरबाट आफ्नो भाइ साउदी अरब गएको र त्यहाँको कम्पनीले भाइलाई ६ महिनामै निकालेर नेपाल पठाएको बताईन्। भाइ ६ महिनामै नेपाल फर्केपछि आफूहरु ठूलो समस्यामा रहेको उनको गुनासो छ । उनले अहिले घर जान बस भाडासम्म नभएर ठूलो समस्या भोग्नुपरेको गुनासो पोखिन् । बुधबार मेनपावरमा गएर विदेश जानेबेला दिएको १ लाख ५० हजार र भाइको नागरिकता फिर्ता गर्न आग्रह गर्दा मेनपावरले नदिएको र उल्टै धम्की दिएको उनको आरोप छ ।

लुहारकाअनुसार उनको भाइ विदेश जाँदादेखि नै सो मेनपावरले नागरिकता राखिराखेको र आफ्नो पैसा पनि नदिएर झन् उल्टै अभद्र व्यवहार गरेको भन्दै बाध्य भएर आज पत्रकार सम्मेलन गर्नुपरेको बताईन् ।

मेनपावरले आफ्नो भाइलाई फ्रि–भिसा र फ्रि–टिकटमा विदेश पठाएको उल्लेख गर्दै लुहारले भनिन्,‘भाइको नागरिकता र पैसा फिर्ता माग्न जाँदा नागरिकता र पैसा दिएन, उल्टै एक महिलाको चेकमा पुरूषले हस्ताक्षर गरेको नसाटिने केही रकमको चेक दियो। सो चेक साटिने आशामा बसें । तर, त्यो चेकपनि साटिएन। फेरि मेनपावर गएर भन्दा उल्टै धम्क्याए। धम्क्याएपछि मात्रै सञ्चारमाध्यमहरुमा गुहारको लागि पुगेकी हुँ।’

सुरुमा असारमा आफूहरुले ५० हजार रुपैयाँ एजेन्ट भनिने जीवन बस्नेतको नाममा जम्मा गरेको पनि उनले सुनाईन् । ‘५० हजार रुपैयाँ हालिसकेपछि साउनको ४ गते १८ तारिकमा तिम्रो उडान हुन्छ भाई भनेर उहाँले भन्नुभयो। भाई १७ तारिकमा काठमाडौं आयो। १७ तारिकमा ११ बजेभित्र एयरपोर्टको गेटनजिक आउनु भनेर भाइलाई ती एजेन्टले भने। मेनपावरलाई पैसा बुझाएको थिएन। त्यसपछि १ लाख ५० हजार पैसा लिएर दाई र भाइ मेनपावर जानुभयो। टार्गेट मेन पावरले ११ बजे तपाईंहरु मलाई भेट्न आउनुस। मलाई भेटेपछि तपाईंले पैसा बुझाउन सक्नुहुन्छ भनेको थियो। दाइ र भाइ गएर एयरपोर्टमा ११ बजेदेखि १ बजेसम्म बस्दासमेत उहाँ आउनुभएन।’–लुहारले भनिन्।

उनले थपिन, ‘त्यसपछि १ बजेतिर मेरो दाईलाई एक जनाले म झापाको हो भनेर भने। म साउदीबाट भर्खरै आएको हो। मैले पैसा साट्ने ठाउँ चिनिन। तिम्लाई थाहा छ भनेर सोध्नुभएछ। अनि दाजुले भन्नुभएछ, थाहा छैन दाइ म भर्खरै आएको हो। मसँग केही रिंगेट साउदीको पैसा छ तपाईंसँग नेपाली छ भने साटांै भनेर दाईलाई भन्नुभएछ। दाई पहिला बिदेश जानुभएको थियो। उहाँलाई साउदीको पैसाको बारेमा थाहा थियो। उनीहरुले माथि चाहीँ साउदीको पैसा राखेका रहेछन्। भित्र चाँही नेपाली पैसा रहेछ। साइज मिलाएर राख्नुभएको रहेछ। नेपाली १०/१० को नोट। अनि दाईले यहाँ हैन पैसा साट्ने ठाउँ हुन्छ। उता जाउँ न भन्दा उनीहरुले मान्नु भएनछ। अनि दाईले पैसा साटेपछि पर गएर हेर्नुभएछ। उनीहरुले साउदीको भनेर दिएको पैसामा जम्मा नेपाली १५ हजार मात्र।’

‘यो चाहीँ मेनपवारले भनेको समयमा दाइभाइलाई भेटेको भए पैसा त चोरी हुन्थेन त। उहाँले ११ बजे आउनुभनेर १ बजेसम्म पर्खिनु अनि पैसा हराउनु यसमा शंका छ। त्यसपछि त्यो पैसा हालेको प्रमाण मलाई केही पनि थाहा थिएन। दाइभाइले हालेको थिए त्यो पैसा।’ उनले भनिन, ‘उताबाट पैसा हालेको अहिले भन्दा केही थाहा छैन। जीवन बस्नेतको भन्दा नाम अरुको थाहा छैन। पैसा हाल न त तेरो भिसा लाग्दैन। पैसा हालेपछि मात्रै तेरो भिसा लाग्छ। १८ तारिकमा तेरो फ्लाईट हुन्छ।’

पत्रकार सम्मेलनमा आम नेपाल टेलिभिजनका सञ्चालन सबिन मल्ल, पीडित भनिएका पुरुषका दिदी सरस्वती लुहार, अभियन्ता जीपी जुनियर, यात्रा टेलिभिजनका अध्यक्ष प्रशोदा ढुङ्गाना र आम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता राज धिताललगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले पीडितको गुनासो सम्बोधन गर्न रिपोर्टिङ गर्ने क्रममा भएको दुव्र्यवहारको निन्दा गर्दै उक्त घट्नाको बारेमा छानबिन गरी दोषी ठहरिए मेनपावर सञ्चालकहरुलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
 

शुक्रबार​ ६ माघ २०७९ ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया