काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको बताएका छन्। मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ प्रचण्डको भनाइ छ ।
ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी बलियो हुँदा परिवर्तन जोखिन्छ र समाजवादमा जान आधार पनि तयार हुन्छ ।’
‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उनले भने।
उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए। ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो,’ उनले भने, ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’
उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताएका थिए। ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने। उनले प्रतिक्रान्तिको खतरा अझैपनि कायम रहेको जिकिर गर्दै आफुहरुकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सकिएको बताए । उनले खासखास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरु सल्बलाएको उल्लेख गर्दै प्रचण्डले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको पनि बताए ।
प्रतिक्रिया