काठमाडौं । गत वर्ष साउनको तुलनामा यस वर्षको साउनमा महँगी झन्डै दोब्बरले बढेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत मात्र थियो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य ९.१८ प्रतिशत रहेको छ । खाद्यतर्फ सबैभन्दा धेरै घिउ तथा तेलको १९.५८ प्रतिशत र गैरखाद्यतर्फ यातायात क्षेत्रको २३.८८ प्रतिशत मूल्य बढेको छ ।
आयात र निर्यातमा ¥हास
सरकारले वैशाखदेखि विभिन्न १० वटा वस्तुको आयातमा सर्तसहित कडाइ गरेको थियो । यसको प्रभावले आयातको परिमाण घटेको हो । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २९ करोड रुपियाँ बराबरको मात्र भएको छ । अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा आव २०७९-८० को साउनमा कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ ।
साउनमा निर्यात पनि घटेको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा कुल निर्यातमा २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपियाँ मात्र भएको छ । आयात घट्दा व्यापार घाटा १०.४ प्रतिशतले घटेर एक खर्ब १६ अर्ब रुपियाँ कायम भएको छ ।
विदेशी मुद्राको सञ्चिति घट्यो
विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ । विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले बृद्धि हो ।
असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो । त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको छ ।
चालू खाता र शोधनान्तर स्थिति सुधारोन्मुख
आयात घट्दा मुलुकबाट बाहिरिने रकम पनि घटेकाले त्यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थितिमा परेको देखिएको छ । साउनमा चालू खाता घाटा १६ अर्ब २६ करोड रुपियाँ पुगेको छ जब कि गत वर्ष साउनमा यस्तो घाटा ४७ अर्ब २९ करोड रुपियाँ थियो । त्यस्तै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो साउनमा यस्तो स्थिति ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा थियो।
रेमिट्यान्समा सुधार
साउनमा रेमिट्यान्स आप्रवाह बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । अमेरिकी डलरमा भने विपे्रषण आप्रवाह १२.८ प्रतिशतले मात्र बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि जान खोज्ने नेपालीको सङ्ख्यामा उच्च बृद्धि भएको छ । साउनमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति २२२.८ प्रतिशतले बढेर ४४ हजार ५४० पुगेको छ ।
कुल आन्तरिक कर्जा घटयो
आर्थिक वर्ष २०७९-८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन पनि घट्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप दुई प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ । २०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो । २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह घट्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.७ प्रतिशतले घटेको छ । २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९-८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया