झापा, भदौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताउनुभएको छ । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आज धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताउनुभयो ।
महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताउनुभयो । उहाँले शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाउनुभएको छ । “मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु” उहाँले भन्नुभयो, “ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ ।”
उहाँले विधेयक क्याविनेटमा पास नभई संसद्मा नआउने र गलत ढङ्गले आए विधेयक संशोधन नहुने भन्दै शिक्षकलाई आश्वासन दिनुभयो । उहाँले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगतरुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताउनुभयो ।
ध्यानाकर्षणपत्र बुझाउन पुगेका शिक्षकले पनि ऐन संशोधन गर्न जरुरी भएको बताउनुभएको थियो । उहाँहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकाले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिनुभएको थियो ।
ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक सङ्घका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक सङ्घ झापा अध्यक्ष तोयानाथ दाहाल (भाष्कर), पूर्वअध्यक्ष नेत्रप्रसाद खरेललगायत महामन्त्री शर्माको निजी निवास मै पुगेका थिए ।
प्रतिक्रिया