×

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

images

लमजुङ । वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । 

ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए । 

सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो । यस्तै, सुन्दरबजार नगरपालिका(९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ । 

कार्यक्रमको अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्रास प्रदान गरिएको छ । समाजमा सुन्दरबजार नगरपालिका(८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आबद्ध छन् ।

आइतबार​ ५ असार २०७९ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया