×

पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करको पानीबाट प्रसूति सेवा सुचारु

images

बैतडी । पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माएकी छन् ।

छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वरमा प्रसूति सेवा सञ्चालन गर्न एक ट्याङ्करको २५ हजार रुपियाँ तिरेर तीन पालिका घुमाएर ४६ किलोमिटर टाढाको स्याडी खोलाको पानी शनिबार साँझ पञ्चेश्वर ल्याइएको हो ।

स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । छ हजार मेगावाट बिजुली निकाल्ने सपना बोकेको महाकालीबाट पानी तान्न मोटर चलाउने बिजुली नहुँदा तीन पालिका टाढाबाट ट्याङ्करमा पानी ल्याउनुपरेको बताइएको छ । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीले पानी अभावमा जेठ २८ गतेदेखि प्रसूति सेवा बन्द गरेको थियो ।

त्यससम्बन्धी चौतर्फी दबाब सिर्जना भई पञ्चेश्वर गाउँपालिकाले ट्याङ्करबाट पानी ल्याएर शनिबार साँझ ७ः१५ बजेदेखि प्रसूति सेवा सुचारु गरेको हो ।

स्वास्थ्य चौकीको आँगनबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि प्रसूति भएका महिलाले पाइप छोएमा मुहान सुक्ने स्थानीयको अन्धविश्वासका कारण पानी नपाउँदा स्वास्थ्य चौकीले प्रसूति सेवा बन्द गरेको थियो ।

पाइपबाट पानी अझै नपाए पनि गाउँपालिकाले ट्याङ्करबाट पानी दिएपछि शनिबार साँझदेखि प्रसूति सेवा सुचारु भएको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए। गोरखापत्र दैनिकबाट

सोमबार ४ असार २०८० ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया