×

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सम्पन्न, ११ जना उपद्रवकारी पक्राउ

images


भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध  बिस्का जात्रा मङ्गलबारदेखि विधिपूर्वक सम्पन्न भएको छ । जात्राको अन्तिम दिन हिजो मंगलबार भैरवनाथको रथ गःहिटीबाट तानेर टौमढीमा लगेर जात्राको समापन गरिएको छ ।

स्थानीय गःहिटीबाट मङ्गलबार साँझ सबै पूजा सम्पन्न भएपछि तान्न थालिएको रथ राति ९ बजे नासमना पुर्‍याएर फर्काइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले बताए । उनले मध्यरातसम्म रथलाई टौमढी ल्याएर देवतालाई देवगृहमा पुर्‍याएर जात्रा सम्पन्न भएको जानकारी पनि दिए ।

गत चैत २७ गते सुरु भएको बिस्का जात्राको रथ तान्ने क्रममा राति ढुङ्गा हानाहान हुँदा ११ जना उपद्रवकारी पक्राउ परेका थिए भने २३ जना घाइते भएका थिए । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान विभाग र सिभिल प्रहरी गरी जात्राका लागि एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो

प्रहरी उपरीक्षक केसीले चालीस जना प्रहरीलाई हातहातमा मोबाइल दिएर फोटो र भिडियो खिच्न मात्रै परिचालन गरेको र ढुङ्गा हानाहान गरे खोजी गरी पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउने बताए । विसंअनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनअघिदेखि तन्त्रोक्त विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

काठैकाठले छाने शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार टौमढीबाट माथिल्लो र तल्लो टोलका बासिन्दाले रथ तानेका थिए 

बुधबार ६ बैशाख २०८० १०:२० AM मा प्रकाशित

प्रतिक्रिया