×

लिभरपुलको आत्मविश्वास बढ्दै

images


लन्डन । गत सिजनको समाप्तीमा धेरैलाई लागेको थियो, लिभरपुलले अब इंग्लिस प्रिमियर लिग उपाधिका लागि फेरि बलियो चुनौती पेस गर्नेछ । तर यस्तो भएन्, उल्टै क्लब राम्रो प्रदर्शनका लागि संघर्षरत रह्यो । लगातारको खराव प्रदर्शनपछि लिभरपुलको आत्मविश्वास फेरि फर्केको छ । यसै क्रममा उसले शनिबार न्युकासल युनाइटेडलाई उसकै घरमा २–० ले हरायो ।
लिभरपुलको यो लगातार दोस्रो जित थियो, एभरटनलाई हराएयता । सेन्ट जेम्स पार्कमा प्राप्त लिभरपुलको यस जितमा डारविन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे । यो जितपछि लिभरपुल ३५ अंकमा आठौं स्थानमा उक्लेको छ । न्युकासल ४१ अंकमा चौथो स्थानमै कायम छ । खासमा न्युकासलको ध्यान भने लिगकप फाइनलमा छ ।
शनिबारका अन्य प्रमुख खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–२ ले हरायो भने म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग १–१ को बराबरीमा रोकियो । यी नतिजापछि आर्सनल ५४ अंकमा शीर्ष स्थानमै कामय रह्यो । सिटी भने ५२ अंकमा दोस्रो स्थानमा रह्यो । सिटीसामु फरेस्टलाई हराएर शीर्षमा उक्लने अवसर थियो ।
तर यस्तो केही पनि भएन् । बरू आर्सनलले दुई अवसरमा एक गोलले पछाडि रहेको स्थिति उल्टाएहो । यस्तै फुलहमले ब्राइटनलाई १–० ले हराएर ३८ अंकसहित छैटौं स्थानमा उक्लेको छ । यस्तै अन्तिम स्थानमा रहेको साउथह्याम्पटनले चेल्सीलाई १–० ले हरायो भने एभरटनले पनि लिड्समाथि १–० को जित रच्यो । बर्नमाउथ भने उल्भ्समाथि १–० ले विजयी रह्यो ।
उता स्पेनमा रियल म्याड्रिडले स्पेनी ला लिगाको उपाधि होडमा कायम रहन शनिबार पहिलो हाफको दुई गोलको मदतले ओसासुनालाई २–० ले हराएको छ । यस जितपछि रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी पनि पाँच अंकमा छोट्याएको छ । रियलका लागि दोस्रो हाफमा फेडरिको भाल्भेरडे र मार्को एसेन्साओले गोल गरे ।
यो जितपछि रियलको २२ खेलबाट ५१ अंक भएको छ । बार्सिलोना भने ५६ अंकमा शीर्ष स्थानमा छ । शनिबारका अन्य खेलमा रियल बेटिसले रियल भालाडोलिडलाई २–१ र मार्लोकाले भिल्लारियललाई ४–२ ले हरायो । यस्तै रियल सोसिडाड र सेल्टा भिगोले १–१ को बराबरी खेले । इटालीमा भने इन्टर मिलानले युडिनेजीलाई ३–१ ले हरायो । 

 

आइतबार​ ७ फागुन २०७९ १०:०९ AM मा प्रकाशित

प्रतिक्रिया