×

प्रा.डा. माधवप्रसाद पोखरेल र जलेश्वरी श्रेष्ठ पुरस्कृत

images

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा प्रा.डा. माधवप्रसाद पोखरेललाई ‘कुमार–सरस्वती पुरस्कार’बाट र जलेश्वरी श्रेष्ठलाई ‘शङ्कर कोइराला आख्यान पुरस्कार’बाट सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि २५-२५ हजार रहेको छ ।


प्रा.डा. कुमारबहादुर जोशीको नाममा कुमार–सरस्वती पुरस्कार र विशिष्ट आख्यानकार शङ्कर कोइरालाको नाममा शङ्कर कोइराला आख्यान पुरस्कारका लागि अक्षयकोष स्थापना गरी दायित्व वाङ्मय प्रतिष्ठानबाट पुरस्कार अर्पण गरिने व्यवस्था रहेको छ ।


उक्त पुरस्कार अर्पण गर्दै प्रा.डा. वासुदेव त्रिपाठीले भन्नुभयो- उपयुक्त पात्रलाई उपयुक्त पुरस्कार दिने निर्णय गरेर दायित्व वाङ्मय प्रतिष्ठानले लेखक साहित्यकारहरुप्रति न्याय गरेको छ अर्थात् दायित्वले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी वहन गरेर गरिमामय साहित्यिक इतिहास बनाएको छ ।


सो अवसरमा प्रा.डा. कुमारबहादुर जोशी र आख्यानकार शङ्कर कोइराला तथा पुरस्कृत व्यक्तित्वहरु प्रा.डा माधवप्रसाद पोखरेल र जलेश्वरी श्रेष्ठका बारेमा प्रा.डा. भागवत ढकालले सङ्क्षिप्त परिचय दिनुभयो भने पुरस्कृत व्यक्तित्वहरुले पनि आफू पुरस्कृत हुन पाएकोमा कृतज्ञता प्रकट गर्नुभयो । 


सोही कार्यक्रममा दायित्व द्वैमासिकको पूर्णाङ्क १३८ र जयदेवकृष्ण श्रेष्ठद्वारा उपलब्ध गराइएको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीकृत ‘महर्षि याज्ञवल्क्य’ को पनि लोकार्पण÷वितरण गरिएको थियो ।


दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कार संस्थापकका तर्फबाट सरस्वती जोशी र अनिल कोइरालाले सङ्क्षिप्त मन्तव्य दिनुभएको थियो भने डा. लेखप्रसाद निरौला, डा. रामप्रसाद दाहाल र यादव भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो ।

शुक्रबार​ २ मंसिर २०७९ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया