ताप्लेजुङमा पहिरो - एकै परिवारका ३ सहित ४ जना बेपत्ता

    images

     ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।

    यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

    घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ ।

    यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

    अहिले पनि निरन्तर वर्षा भइरहेकाले बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ ।

    आइतबार​ ३ असार २०८० ०८:३१ AM मा प्रकाशित

    प्रतिक्रिया