काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् । उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताए । बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । प्रश्न सुन्नासाथ उनी हाँसे । जवाफमा डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताए । अहिले त्यसको कमी रहेको र त्यसलाई विश्वसनीय बनाउन सबैले काम गर्नुपर्ने बताए ।
उनले अघि भने, ‘यो मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु । यही कारण म अगाडि आएको हो । मैले सक्ने जति गर्ने हो, सक्ने भन्दा अरु काम गर्दिनँ ।’ अहिलेलाई यो काम (राष्ट्रपति) भन्दा आफूले गर्न सक्ने काम धेरै रहेको डा. रुइतले बताए । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।
उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’
डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए । उनले आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इशा अवार्डलाई हेरेको बताए।
उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए।
उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्न आवश्यक रहेको पनि बताए।
प्रतिक्रिया