×

आशिष र इन्डिरालाई स्वर्ण

images


काठमाडौं। आयोजक नेपाल एपीएम प्रा.लि. का आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् ।


भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को  सेटमा पराजित गरे । एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रुपमा तेश्रो भए । यो स्पर्धा ब्वाइज-गल्र्सलाई मिसाएर खेलाइएको थियो ।

शीर्ष तीन स्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबलटेनिस खेल सामाग्री प्राप्त गर्ने छन् ।
यु–१६ मा सहभागी ब्वाइज÷गल्र्स गरी जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धा अघि ओलम्पिकको टेबलटेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो ।


महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११–३, ११–३ र ११–३ को सोझो सेटमा हराइन् । नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेश्रो बने ।

पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो भए । उनले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३–११, ११–९, ११–७ र १४–१२ को सेटमा पाखा लगाए । नेपालका आनन्द धाक्वा र जगदीश्वर जोशीले तेश्रो स्थानमा चित्त बुझाए । 

प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउने छन् । 

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन र भारतका गरी जम्मा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ  ।

बिहीबार १ मंसिर २०७९ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया