×

पशुपन्छी बीमामा किसानलाई अनुदान

images


भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९÷०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । 

कार्यालयले रु एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले रु ४५ लाख ४८ हजार अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । 

तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क रु ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ । “पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो”, उहाँले भन्नुभयो, “बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।” 

त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत रु ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक÷एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको   हो ।  

कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि रु दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।

शुक्रबार​ ३१ भदौ २०७९ ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया