×

२०७४ मा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची असोज १ देखि खारेज

images

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूची भोलि असोज १ गते राति १२ बजेदेखि स्वत: कायम नरहने निर्णय गरेको छ। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र तथा भदौ २९ गते राजनीतिक दलसँगको बैठकवाट प्राप्त सुझावसमेतका आधारमा आयोगले यस्तो निर्णय गरेको हो ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची यही असोज २ र ३ गते बुझाउने कार्यतालिका छ ।

तर २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई २०७९ को बन्दसूचीमा समावेश गर्न मिल्ने कि नमिल्ने भन्ने अन्यौल थियो । यसबारे दलहरुले प्रष्ट पारिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । आसन्न मंसिर ४ को चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २-३ मा पेस गर्ने निर्वाचन कार्यतालिका छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ गतेको पत्र तथा भदौ २९ गतेको राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा उक्त निर्णय गरिएको आयोगले जनाएको छ।

‘आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

शुक्रबार​ ३१ भदौ २०७९ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया