×

६० किलो सुन बरामद प्रकरणमा चार जना चिनियाँ नागरिकलाई पक्राउ

images

 काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ३१) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको कठायतले बताए ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर, मंगलबार  गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो ।

विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्यूरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ ।

जोङ छ्याङ चाहिएको बेला उपस्थित हुने गरी छुटेका छन् भने झाओ हुई र ताङ जिङको साथमा ३१ लाख ८० हजार रुपैयाँ बरामद भएकाले थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सीआईबीलाई अनुसन्धानको सम्पूर्ण विवरण जिम्मा लगाएको थियो ।


 

बुधबार ३१ साउन २०८० ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया