काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ ।
करिव छ महिना अगाडि आगलागीमा परी घाइते हुनुभएका उहाँको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिनुभयो ।
पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उहाँको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।
उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आउनुभएको डा राईले बताउनुभयो । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आउनुभएको जनाइएको छ ।
डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।
गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उहाँलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उहाँलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उहाँको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उहाँलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उहाँका निकटस्थहरूले बताएका छन् ।
प्रतिक्रिया