काठमाडौं । माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्याउँछ ।
माछा लो फ्याट, अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । साथै यसमा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पनि पाइन्छ ।
माछा खानुका फाइदा
मुटुरोगीका लागि माछा फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा समावेश गरे निकै लाभ पुग्छ । माछामा पाइने ओमेगा-३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउनुका साथै शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
माछाका परिकार खाँदा तनाव नियन्त्रण, डिप्रसन, उमेर बढ्दै गएपछि उत्पन्न हुने आँखा तथा छालाको समस्या कम गर्न मद्दत पुग्छ । गर्भवती महिलाले नियमित माछाको सेवन गरे पेटभित्रको बच्चाको वृद्धिविकासमा पनि फाइदा पुग्छ । माछाले बालबालिकाको मस्तिष्क विकासमा पनि सहयोग गर्छ ।
कसरी खाँदा माछाको पोषक तत्व प्राप्त हुन्छ ?
माछाका विभिन्न परिकार बनाउन सकिन्छ । जस्तै, सुप, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगेमाछा पिज्जा, फिस चिल्ली, फिस चाउमिन, फिस सिजलरजस्ता थुप्रै परिकार माछाबाट बनाउन सकिन्छ ।
त्यसमध्ये पनि उसिनेर, झोल तथा ग्रेभी परिकार बनाएर खाएमा माछामा भएको पौष्टिक तत्व नष्ट हुँदैन । दैनिक खान नसके पनि हप्तामा दुई दिन माछा खाँदा स्वास्थ्यका लागि फाइदा पुग्छ ।
नेपालमा पाइने माछाका प्रजाति ?
माछा व्यापारीका अनुसार नेपालमा करिब ७५ थरीका माछा बजारमा उपलब्ध छन् । तर सबै पसलमा यी सबै प्रजातिका माछा पाइन्छ भन्ने हँुदैन । पसलमा सामान्यतया सात-आठ थरीका माछा जस्तै नैनी, साहर, असला, बाचाफिस, भतुरा, रौं, भुरा, बुहारी झिंगे लगायत पाइन्छन् । यसमा पनि अत्यधिक ग्राहकले रौं, भुरा र बुहारी माछा मन पराउने माछा विक्रेताहरु बताएँछन् । जसमा बुहारी माछामा काँडा कम हुन्छ भने अरु सबै काँडा भएका हुन्छन् । पछिल्लो समय झिंगे माछाको माग बढिरहेको व्यापारीहरु सुनाउँछन् । यद्यपि रौं माछा सदावहार रुचाइनेमा पर्छ ।
माछा सबै स्वादिलो नै हुने भए पनि यसलाई पकाउने तरिकामा पनि भरपर्ने बताउँछन् । साथै कसैलाई काँडा नभएको मासु ग्रेभी गरेर खान मन पर्छ भने कसैलाई रौं माछा तेलमा फ्राइ गरेर खान मन पर्छ ।
प्रतिक्रिया