काठमाडौं । हिमालका आधार शिविरआसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ। हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन्।
सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन।
हिमाल र हिउँबारे अध्ययन गरेका प्राध्यापक डा सुदीप ठकुरीले बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालबाट हिउँ रित्तिन थालेकाले पनि आधार शिविरमा पोखरी देखिन थालेको तर्क गरे। उनले भने, “कतिपय खोँचमा पहिले ठूला हिउँका ढिक्का जमेर ढुङ्गा जस्तै भेटिन्थे तर अहिले ती खोँचमा पनि हिउँ पग्लेर बग्न थालेको देखिन्छ।”
उनीसहितको टोलीले उच्च हिमाली क्षेत्रको तापक्रम नाप्ने स्टेसनको अध्ययन पाँच वर्षको अवधिमा गरेको छ। उनले जल तथा मौसम विज्ञान विभागमातहत उच्च हिमाली क्षेत्रमा स्थापना भएका झन्डै ९० वटा तापक्रम अनुगमन स्टेसनमार्फत सङ्कलन गरी हिमालको तापक्रमको अवस्था पत्ता लगाइएको बताए। उनले भने, “प्रत्येक १० वर्षमा हिमाली क्षेत्रको तापक्रम ०.३५ डिग्री सेल्सियसले बढेको अध्ययनबाट थाहा भयो।” सबै स्टेसनको अवस्था नियमित थिएन। ती कहिले बन्द हुने र कहिले चल्ने गरेको पाइएको थियो। यसैको परिणाम २०७८ सालमा मेलम्चीमा आएको आकस्मिक बाढी पनि हो। स्टेसनले राम्ररी काम नगर्दा र त्यसको तथ्य सङ्कलन र विश्लेषण प्रविधि गतिलो नहुँदा समस्या बढेको छ। तीमध्ये ३० वटा जति स्टेसनको तथ्याङ्क राम्रो पाइयो। जसमा सन् १९७५ देखि २०१५ सम्मको तथ्याङ्क निरन्तर सङ्कलन भएर बसेको थियो।
अध्ययन न्यूनतम तापक्रम र अधिकतम तापक्रम दुवैको गरिएको हो। न्यूनतम तापक्रममा खासै फरक नदेखिए पनि अधिकतम तापक्रम अत्यधिक बढेको पाइएको छ। सो क्रममा समुद्री सतहदेखि एक हजार मिटर तल र त्योभन्दा माथिको तापक्रमको पनि तुलनात्मक अध्ययन गरिएको थियो। अनुसन्धानकर्ता डा ठकुरीले जसले तराई भेगको भन्दा हिमाली भेगको तापक्रमको वृद्धिदर उच्चतम रहेको पाइएको बताए । गोरखापत्र दैनिकबाट
प्रतिक्रिया