×

सिजनको सबैभन्दा ठूलो खेलमा सिटी विजयी

images


पेरिस । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको यस सिजनकै सबैभन्दा ठूलो र महत्त्वको खेलमा बुधबार आर्सनलाई हराएको छ । यसले उपाधि होड खुल्ला र रोमाञ्चक बनेको छ । सिटीले आर्सनललाई उछिदै नोभेम्बरयता पहिलो पल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको पनि छ ।
सिटीले बुधबारको खेलमा यसअघि पहिलो स्थानमा रहेको आर्सनललाई ३–१ ले हरायो । केभिन डे ब्रुएनाले सिटीका लागि पहिलो गोल गरेयता आर्सनलका तर्फबाट बुकायो साकाले बराबरी गोल फर्काए । दोस्रो हाफमा ज्याक ग्रेलिस र इर्लिङ हालान्डले गोल गरे । यो जितपछि सिटी र आर्सनल समान ५१ अंकमा रहे ।
सिटी गोल अन्तरले अगाडि रहेको हो । तर उसले आर्सनलको तुलनामा एक खेल बढी खेलेको छ । यता स्पेनी ला लिगामा रियल म्याड्रिडले बुधबार स्पेनी ला लिगाका पुछारमा रहेको एल्चेलाई ४–० ले हरायो र शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी आठ अंकमा छोट्याउन सफल रह्यो ।  
मार्को एसेन्सियोको गोलले अग्रता लिएको रियलका लागि त्यसयता करिम बेन्जेमाले दुई गोल गरे । उनका दुवै गोल पेनाल्टीमा भएका थिए । खेल सकिन १० मिनेट अगाडि लुका मोडरिचले चौथो गोल गरे । अब रियलले शनिबार ओसासुनाको भ्रमण गर्नेछ । यो नतिजापछि रियलको २१ खेलबाट ४८ अंक भएको छ । बार्सिलोना समान खेल खेलेर ५६ अंकमा शीर्ष स्थानमा रहेको छ ।
बुधबार युरोपेली च्याम्पियन्स लिगमा पनि दुई खेल भए । अन्तिम १६ को बुधबार भएका पहिलो लेगका खेलमा बेनफिका र बोरुसिया डर्टमन्ड विजयी रहे । बेनफिकाले क्लब ब्रुग्सलाई २–० ले हरायो । त्यसमा जाओ मारियाले पेनाल्टीबाट पहिलो गोल गरेपछि डाभिड नारेसले दोस्रो गोल थपे । डर्टमन्डले भने आफ्नै घरेलु मैदानमा चेल्सीलाई १–० ले हराएको हो । 

 

बिहीबार ४ फागुन २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया