सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णय गरेको हो ।
आयोगका पदाधिकारीको म्याद भोलिदेखि सकिँदै थियो । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा दुवै आयोगसम्बन्धी ऐनहरू संशोधन गर्ने र त्यहीअनुसार संरचना तय गरी न्यायिक निरूपण गर्ने सहमति भएको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा समयावधि सकिन लागेका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी आजको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीका विषयमा पनि छलफल भएको थियो । बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिनुभएको थियो ।
त्यस्तै नागरिकतासम्बन्धी विधेयकमाथि पनि छलफल भएको थियो ।
प्रतिक्रिया