×

कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

images

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन्। प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी सहित  ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूको बारेमा औपचारिक जानकारी गराएको छैन । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ । 

प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।

उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा देखिदै आएका छन् । ‘हल्का रमाइलो’ र ‘जुठे’ उनको लेखन तथा निर्देशन रहेको फिल्म हो ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।

बिहीबार ३२ जेठ २०८० १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया