×

रुसी लडाकु विमानसँग ठोक्किएपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त, खस्यो ब्ल्याक सीमा

images

काठमाडौँ — एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ। अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित उडानका क्रममा आफ्नो ड्रोनलाई दुई वटा रुसी लडाकु विमानले खसालेको अमेरिकाको भनाइ छ ।

रुसले भने अमेरिकी ड्रोनले तीव्र रूपमा आफ्नो बाटो परिवर्तन गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जनाएको छ । रुसले ड्रोनसँग लडाकु विमान ठोक्किएको अमेरिकी दाबीको खण्डनसमेत गरेको छ ।

रुसले अमेरिकी एमक्यू-९ रिपर ड्रोनले आफ्नो ट्रान्सपोन्डर अफ गरेर उडेको पनि दाबी गरेको छ । ट्रान्सपोन्डरले विमानहरूलाई ट्रयाक गर्न सहयोग गर्छ । रिपर ड्रोन निगरानीका लागि प्रयोग हुन्छ जसको पंखा २० मिटर लामा हुन्छन् ।

अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले उक्त घटना मंगलबार बिहानको भएको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले घटनाबारे जानकारी दिँदै भनेको छ, 'हाम्रो एमक्यू-९ एयरक्राप्ट अन्तराष्ट्रिय हवाई क्षेत्रमा नियमित उडान गरिरहेको थियो । त्यसैक्रममा रुसी विमानले हाम्रो ड्रोनलाई ठक्कर दिएको हो । जसका कारण एमक्यू पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।'

यसै घटनालाई लिएर अमेरिकाले रुसी राजदूत एनाटोली एन्तोनोभलाई स्पष्टीकरणसमेत सोधेको छ । रुसी मिडियाका अनुसार ड्रोन घटनालाई मस्कोले अमेरिकी उक्साहटका रूपमा लिएको एन्तोनोभले जनाएका छन् । रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।
 

बुधबार १ चैत २०७९ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया