×

सुदूरपश्चिममा चौबीस महिला उम्मेदवार

images

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २४ जना महिलाको उम्मेदवारी कायम रहेको छ । निर्वाचन आयोगले बुधबार साँझ प्रविष्ट गरेको तथ्याङ्कअनुसार प्रतिनिधि सभा सदस्यतर्फ पुरुष उम्मेदवार १२६ जनामध्ये महिला उम्मेदवार ११ जना रहेका छन् ।

प्रदेश सभामा पुरुष उम्मेदवार १५० जनामध्ये महिला उम्मेदवार १३ जना छन् । प्रतिनिधि र प्रदेश सभामा दुईरदुई जना महिला स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यद्यपि मुख्य दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट महिला उम्मेदवारी परेको छैन। नेकपा (एमाले) ले प्रतिनिधि सभामा दुई जना र प्रदेश सभामा एक जना महिलालाई उम्मेदवार बनाएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई जना महिलालाई उम्मेदवार बनाएको छ । 

२०७४ सालको सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बाट समानुपातिक सूचीमा पर्नुभएका डोटीकी पूर्णा जोशीको यस पटक प्रत्यक्षबाट प्रदेश सभा सदस्यमा चुनाव लड्ने इच्छा पूरा भएन । नेकपा (एमाले) बाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला इन्चार्ज जोशीले प्रदेश सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आफू पार्टीबाट सिफारिस भए पनि उम्मेदवार बन्न नपाएको बताउनुभयो । 

उहाँ केही महिना सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो । आफ्नो क्षेत्रको समस्या, महिला, दलित, जनजाति, उपेक्षित वर्गको समस्यालाई नजिकबाट बुझेको बताउने नेता जोशीले ती समस्या सामाधानका लागि आफू प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट पुनः प्रदेश सभा सदस्यमा निर्वाचित हुने चाहना पूरा नभएको बताउनुभयो ।

उहाँले स्वतन्त्र उम्मेदवारी दिँदा नराम्रो सन्देश जाने भएकाले आफू चुप बसेको बताउनुभयो । उहाँले ‘अवसरका लागि मरिहत्ते गरको’ सन्देश आफूले दिन नखोजेको बताउनुभयो । उहाँले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्नु भनेको च्याँखे थाप्ने, मोलमोलाई गर्ने बाहना भएको टिप्पणी गर्नुभयो ।

राजनीतिक दलहरूको उम्मेदवार छनोटमा असन्तुष्टि व्यक्त गर्दै नेता जोशीले भन्नुभयो “भूगोलमा गएर जनतासँग भिजेका, कार्यसम्पादन राम्रो गरेकाभन्दा पनि शक्तिको वरिपरि घुम्ने चाकडी गर्ने र पैसा पेल्न सक्नेले टिकट पाउँछन् । त्यसले गर्दा महिला सशक्त रूपमा अग्रभागमा पुग्न सकेका छैनौँ ।”

नेकपा ९एकीकृत समाजवादी० मा मात्र होइन चुनावी तालमेल गरेको सत्ता गठबन्धनको ठूलो पार्टी नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र नम्बर ३ का सभापति रीता चौधरीले टिकटका लागि प्रयास गर्दा पनि नपाएको गुनासो गर्नुभयो  । 

उहाँले भन्नुभयो, “प्रदेश सभा सदस्यका लागि रामकुमारी चौधरी प्रत्यक्ष र म समानुपातिक उम्मेदवारका लागि काठमाडौँ धाउँदासमेत टिकट पाएनौँ ।” चुनावी तालमेलमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि नेपाली कांग्रेसबाट चुनाव लड्ने योजना बनाएका महिलाले चुनाव लड्न नपाएको उहाँले बताउनुभयो ।  चाँदनी आचार्य/गोरखापत्र दैनिक

शुक्रबार​ २८ असोज २०७९ १०:०१ AM मा प्रकाशित

प्रतिक्रिया