×

लेखक सलमान रुस्दीको स्वास्थ्यावस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै 

images

काठमाडौं । चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि उनको अवस्था गम्भीर छ। रुस्दीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

 

हमलाका कारण उनको कलेजोमा गम्भीर असर परेको छ भने उनले एउटा आँखा समेत गुमाउनसक्ने बताइएको छ। उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए। अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको उनका प्रतिनिधि एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्।

 

उनीमाथिको हमलालाई लिएर विश्वभरिबाट प्रतिक्रिया आएको छ भने अमेरिकाका लगभग सबैजसो सञ्चारमाध्यममा उक्त खबरले प्राथमिकता पाएको छ।

 

सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका छन्। प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कस्थित शटोक्वा इन्स्टिच्यूशनमा हमला गरेको प्रहरीले जनाएको छ।

 

"सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ; उनको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन," उनका एजेन्ट वायलीले भनेका छन्। प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन।

 

प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ। रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन्। उनलाई हेलिकोप्टरमा अस्पताल लगिएको थियो। 

 

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट्स चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो। तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पार्‍यो। बीबीसी

आइतबार​ २९ साउन २०७९ ०७:३९ AM मा प्रकाशित

प्रतिक्रिया