×

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

images

आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ ।

नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।

पाहुनाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बिहानैदेखि बाक्लै गुडेका बेनीको प्रवेशनाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ । बुधबार रातिसम्म बेनीमा भित्रिएका दुई हजार बढी आन्तरिक र बाह्य पर्यटक आज बिहानै मुस्ताङको मुक्तिनाथ र म्याग्दीका पर्यटकीयस्थल टोड्के, भुरुङ तातोपानी, रुप्से झरनालगायत क्षेत्रतर्फ लागेका छन् । 

त्यसैगरी नयाँ वर्षको पहिलो दिन म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न एक हजारभन्दा बढी पर्यटक बुधबार नै घोडेपानी पुगिसकेका घोडेपानीका होटल व्यवसायीले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ ।

 घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट अघिल्लो दिनदेखि नै घोडेपानीमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । घोडेपानीमा बास बसेका पर्यटक अहिले बिहानै पुनहिलतिर उकालो चडिरहेका गर्बुजाले जानकारी दिनुभयो ।

 चितवनको भरतपुर उपमहानगरपालिका–२ क्षेत्रपुरबाट घोडेपानी भ्रमणमा आउनुभएका चिरञ्जीवी पौडेल, रक्षा पौडेलसहित उहाँको समूहका १२ जना युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गर्ने र नयाँ वर्ष यहीँ मनाउने योजना रहेको सुनाउनुभयो । 

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविकको भन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम सातादेखि म्याग्दीका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।

बिहीबार १ बैशाख २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया