×

प्रधानमन्त्रीको ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ - भीम रावल

images

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्। आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाबारे रावलले दुई जिभ्रे कुरा गरेको बताएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसद्मा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो ?’ भन्दै प्रश्न गरेका थिए । ओलीले अघि बढाएको एमसिसी परियोजना आफूले प्रतिनिधि सभाबाट पारित गरेको देउवाको भनाइ थियो। 

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।देउवाले दिएको उक्त अभिव्यक्तिको जबाफ दिँदै रावलले भनेका छन्,“तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या त जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।”

रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसद्मा ल्याएको बेला नभएको स्पष्ट पारेका छन् । उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका हुन् । उनले थप बहस गर्ने इच्छा भए आफू तयार रहेको बताएका छन् । पदीय मर्यादाका लागि तुच्छ शब्द प्रयोग नगर्न समेत रावलले सुझाएका छन् । उनले अगाडि भने 

“प्रधानमन्त्री देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ । उत्तर हेर्नुहोस्– नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकाले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो,” 

 

सोमबार ३० फागुन २०७८ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया