×

पुरातात्विक महत्वका वस्तुहरू विभागलाई हस्तान्तरण

images

महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न स्थानबाट बरामद गरिएका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वका २४ थान मूर्ति आज पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ । परिसरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ती मूर्तिहरू पुरातत्व विभागका पुरातत्व अधिकृत सविता न्यौपानेलाई परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका मूर्तिहरूमा काठको मूर्ति चार थान, ढुङ्गाको मूर्ति १२, माटोको मूर्ति एक, ढलोटको मूर्ति चार, फलामको मूर्ति एक, क्रिष्टलको मूर्ति एक र चाँदीको थाल एक थान रहेका छन् । हस्तान्तरण गरिएका सामग्रीहरूमा टुँडाल, भागिरथ, विष्णुको मूर्ति, ढलोटका जोडी सिँह, माटोको भगवती मूर्ति, गणेश मूर्ति लगायतका प्राचीन सम्पदाहरू रहेका छन् ।

विगत लामो समयदेखि भक्तपुरको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारी परिसरमा सुरक्षित राखिएका पुरातात्विक महत्वका सामग्रीहरूको थप सुरक्षा र यसको उपयोगिताका लागि विभागलाई हस्तान्तरण गरिएको एसपी श्रेष्ठले बताउनुभयो । 

विभागले प्राप्त सामग्रीलाई काठमाडौँ छाउनीस्थित सङ्ग्रहालयमा राखिने पुरातत्व अधिकृत न्यौपाने जानकारी दिनुभयो । उहाँले विभागको समितिले प्राप्त वस्तुहरूको धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वबारे थप खोज तथा अनुसन्धान गरी अभिलेख राख्ने बताउनुभयो । उहाँले कोही स्थानीय समुदायले प्रमाणसहित दाबी गर्न आएका पुनःस्थापनाका लागि प्रदान गरिने जानकारीसमेत दिनुभयो । प्राप्त मूर्तिहरू अधिकांश मल्लकालीन मूर्तिहरू रहेको अधिकृत न्यौपानेले बताउनुभयो ।

सोमबार २ फागुन २०७८ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया