×

देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय छन - अध्यक्ष केपी शर्मा ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । साथै  नेकपा एमालेका अध्यक्ष ओलीले चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको बताएका छन् । मंगलबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले यो स्थिति फेरिन सक्ने संकेत गरेका छन् ।

‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ ।

बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’

अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको बताए । ‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेटपाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् ।

त्यसकारण पहिला यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । फेरि पनि हुनसक्छ’, ओलीको भनाइ छ ।  उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताए ।

मङ्गलबार २ फागुन २०७९ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया