×

भारत र चीनका सेनाबीच ‘भिडन्त’

images

एजेन्सी । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो ।

दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन् । 


द ट्रिब्यून पत्रिकाले यस क्षेत्रमा यसअघि पनि भारत र चीनका सैनिक आमनेसामने हुँदै आएको समाचार प्रकाशित गरेको छ । तर, यस विषयमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ ।

सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए।

त्यसअघि सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा करिब दुई दर्जन भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको जनाइएको थियो । त्यसअघि भुटान नजिकैको विवादित सीमा क्षेत्र दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो ।

त्यसअघि सन् १९६२ मा भारत र चीनबीच सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धपछि दुई देशका सैनिकले एकले अर्काविरुद्ध हतियार नचलाऔने सहमति भए बमोजिम युद्ध भने भएको छैन । हतियारबन्द युद्ध नभए पनि दुई देशबीच तनाव भने निरन्तर दोहोरिँदै आएको छ ।

मङ्गलबार २७ मंसिर २०७९ १०:१७ AM मा प्रकाशित

प्रतिक्रिया