मकवानपुर, : हिजोदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान गएको पहिरो पन्छाएर हेटौँडा–
काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको छ ।
भीमफेदी गाउँपालिका–९ को अन्तर्गत लामिडाँडामा बर्सातले पहिरो जाँदा आज बिहान करिब ४ बजेदेखि उक्त खण्डमा यातायात सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले जनाएको छ ।
भैँसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोली आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरे पनि दिउँसो १ बजेदेखि यातायात सञ्चालन भएको पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक खण्ड भएर हेटौँडा, पालुङ र काठमाडौँतर्फ यातायात सञ्चालनका लागि अहिले कुनै अवरोध छैन ।
त्यस्तै, काठमाडौँबाट हेटौँडतर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएको पहिरो पन्छाउने कार्य भइरहेको मकवानपुरका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार भैँसे–भीमफेदी हुँदै काठमाडौँ जाने सडक अन्तर्गत सिस्नेरीतर्फको खण्ड पूर्णरुपमा अवरोध भएकाले फाखेलतर्फबाट यातायात सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया