×

रमिते अवार्ड 

images

काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा एउटा यस्तो जमाना थियो, जहाँ साह्रै कम अवार्ड हुने गर्थे, महत्त्व पनि थियो। अहिले समय बदलिएको छ, अवार्ड अब कसैको सम्मानको विषय रहेन र यसले त्यति महत्त्व राखेको पनि देखिँदैन यो किनबेचको वस्तु हुन थालेको छ, खासगरेर नेपाली चलचित्र क्षेत्रमा । अवार्डका संस्थापक-आयोजक र निर्णयकर्ताको मिलोमतोमा आफूले चाहेको र आफ्नो स्वार्थका आधारमा कसैलाई पनि सम्मानित गरिन्छ । प्रतिभाको कुनै मतलब नै हुँदैन । संस्थापक-आयोजक यस्तै देखिन थालेका छन् । निर्णयकर्ता अर्थात् जुरी पनि यस्तै नै छन् यी दुवैथरि मिल्छन् र अवार्ड प्रदान गर्छन् । 

 

चलचित्र कलाकार सङ्घको फान अवार्डदेखि डि सिने अवार्डसम्म अवार्ड सधैं विवादित रहन्छन् । विना विवाद अवार्डका कार्यक्रम नै हुँदैनन् मनेजस्तै भएको छ । मनोरञ्जनको क्षेत्र एकदमै सानो भएको हाम्रो देशमा यस्तो सानो र भर्खरै विकसित हुन लागेको क्षेत्रमा अवार्डजस्तो गरिमामय क्षेत्रमा विवाद किन हुने गरेको छ ?

 

एक चलचित्र समीक्षक भन्छन्, 'म अर्वाडमा बस्ने जुरीले मूल्याङ्कन गर्नु उचित ठान्दिनँ । अवार्ड आफ्नो मनपर्ने र आफन्तलाई दिनेको नियत नै खराब रहेको छ। जुरीले कुनै पूर्वाग्रह नराखी सही मूल्याङ्कन गर्छन् कि गर्दैनन्, अलग कुरा हो। अब बेला आएको छ अवार्डका जुरीमा संस्थापक-आयोजकको दबाब नमान्ने निष्पक्ष कलाकारलाई राखियो मने उचित हुन्थ्यो कि ?' त्यसमाथी अहिले हाम्रो देशमा धेरै अवार्ड आवश्यक नै छैन। अवार्ड पेसागत संघ संस्थाले प्रदान गर्ने कुरा पनि होइन यहाँ त आयोजक र जुरीकै मान्छेले मात्र अवार्ड पाइरहेका छन् अवार्ड विवादरहित पनि छैनन् । सबै निर्णायकको एउटै अनुहारमात्र देखिने हुनाले पनि अहिले अवार्डको खासै महत्त्व छैन । 

 

नाम नबताउने शर्तमा एक पत्रकारको विचार थियो 'हामीलाई उनीहरूले दिएको अवार्ड मन नपर्न पनि सक्छ, मन पर्न पनि सक्छ यो उनीहरूको स्वतन्त्रताको कुरा हो। यसमा एउटा सजिलो के भएको छ समारोहमा एकदमै कम देखापर्नुहुन्छ भने आयोजक र जुरीले आफ्ना नातेदार आफूले रुचाएकालाई अवार्ड दिन सक्छन्। किन दिइस भनेर कसैले सोध्ने कुरा पनि त भएन।'

 

नेपालमा चलचित्र बन्नेक्रम जारी छ चलचित्र हेर्ने दर्शक पनि कम छैनन् । तर, दर्शकले मन पराएको चलचित्र धेरै कम पाइन्छ यहाँ यस्तो अवस्थामा अवार्ड दिइनु र विवादमा आउनु लाजमर्दो कुरा हो । यसमा त निर्णायकलाई नै लाज लाग्नुपर्ने हो कतिपय निर्णायकलाई नै थाहा छैन होला, वर्षमा कति चलचित्र बन्छन् अवार्ड अहिले पैसा छाप्ने मेसिनजस्तै बनेको छ ।

 

आयोजक एउटै हुनुमा व्यावसायिक कुरा हुन सक्ने विचार राख्छन् चलचित्र निर्देशकहरु । उनीहरुको विचारमा जुरीमा सधै एकैप्रकारका मान्छे देखिएकाले पनि परिणाम नआएको हो । यसमा आयोजकको एकदमै ठूलो दोष देखिन्छ । हाम्रा अवार्डका निर्णायकले बलिउडबाट सिक्नुपर्ने हो कस्तो हुन्छ अवार्ड र कसरी गरिन्छ अवार्ड भन्ने कुरा । त्यहाँ निर्णायकमा चलचित्र र त्योसँग सम्बन्ध राख्ने विशेषज्ञ रहन्छन् । अवार्डको साख कलाकारको विवेकमा भर पर्छ । नायक अजय देवगन कहिले निजी अवार्ड समारोहमा देखिँदैनन् । नायक अमिर खान पनि अवार्ड समारोहमा एकदमै कम देखिन्छन् ।

 

केही वर्ष अघि कलाकार दीपकराज गिरीले आफ्नो फेसबुक वालमा लेखेका थिए, 'शिखन्डीलाई महाभारतको जिम्मा दिएपछि त्यहाँ पाण्डवप्रति अन्याय भयो भनेर कुर्लिनुको कुनै अर्थ हुँदैन ।' हामीले वास्तविक अवार्ड दर्शकबाट पाइसकेका छौं । 'यो अवार्ड गर्ने भनेको जुरीलाई स्थायी नियुक्ति दिने भनेको हो। सधैँ तिमीहरू नै बसिराख, मोज गरिराख भनेको हो । फेरि अहिले अवार्ड समारोह पनि कस्तो छ भने अवार्ड पाउने सबै समारोहमा जाने अवार्ड नपाउने कोही पनि नजाने । अहिले अवार्ड फेस्टिभलका रूपमा चलेको छ भन्दा पनि हुन्छ। यसलाई त अझ अवार्ड पाउनेको फेस्टिभल भन्नुपर्छ।'

 

यहाँ अवार्ड कार्यक्रम किन र केका लागि गरिन्छ भन्ने कुरा कति आयोजक र जुरीलाई नै थाहा छैन । अवार्ड आयोजना गर्यो कतै नसुनिएको विधा राखिदियो र प्रचार कमाउनतिर लाग्यो । हामीले त विदेशमा हुने अवार्ड कार्यक्रमबाट पनि सिक्नुपर्ने हो । हलिउड र बलिउडमा पनि नसुनिएका विधाका अवार्ड हाम्रो देशमा हुने गरेका छन्। यहाँ कसले धेरै विधामा अवार्ड वितरण गर्न सक्छ भन्ने होडबाजी चलेको छ। संयोगले यही साता गाईजात्रा परेको छ। नेपाली सिनेमामा अवार्डको गाईजात्राले वास्तविक गाईजात्रालाई माथ गरेको छ । 

शनिबार २८ साउन २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया