हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ । सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको सङ्ख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरुले भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरुले गुनासो गरेका हुन् । स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार सङ्घ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताउनुभयो ।
यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफँै अन्यौलमा परेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।
उक्त भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उहाँको भनाइ छ । तर प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उहाँको भनाइ छ ।
जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एक लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थयकर्मीहरुले जनाएका छन् ।
प्रतिक्रिया