×

वाग्मती प्रदेश सभा बैठकबाट पाँच वटा अध्यादेश पारित

images

वाग्मती प्रदेश सभा बैठकबाट पाँच वटा अध्यादेश पारित गरिएको छ । प्रदेश सरकारले पहिले ल्याएका पाँच वटा अध्यादेश पारित गरिएको हो ।

वाग्मती प्रदेशको आजको बैठकले ५ वटा अध्यादेश पारित गरेको हो । प्रदेश सभा बैठकले ४ वटा अध्यादेश सर्वसम्मतले पारित गरेको छ भने एउटा अध्यादेश बहुमतले पारित गरेको छ ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘पालिका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको हो ।

यसैगरी, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, युवा तथा खेलकुद मन्त्री श्री रत्न प्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गरेका थिए ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेस गरेका थिए । बैठकमा प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

बुधबार २९ असार २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया