×

बार्सिलोना र नेपोलीलाई ठूलै अग्रता

images


पेरिस । सम्भवतः स्पेन र इटालीको घरेलु लिगले नयाँ विजेता पाइसकेको छ । कुनै ठूलो अप्रत्यासित नतिजाको शृंखला आएन भने यी दुई लिगमा त्यही टिम च्याम्पियन हुनेछ, जसले अहिले तत्काल अग्रता लिइरहेका छन् । यो अग्रता पनि कस्तो भन्दा ठूलै । बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानमामा आइतबार ११ अंकको अग्रता लिएको छ ।
उसले कठिन संघर्षपूर्ण खेलमा भिल्लारियललाई १–० ले हरायो । पेड्रिले १८ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित रह्यो । लिगको २६ पल्टको च्याम्पियन बार्सिलोनाको यो लगातार छैटौं जित हो । यो नतिजापछि बार्सिलोनाको २१ खेलबाट ५६ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ४५ अंकमा दोस्रो स्थानमा छ ।
उता इटालीमा नेपोलीले सिरी ए को शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार १६ अंक पुर्‍याएको छ । उसले अंक तालिकाको पुछारमा रहेको क्रमोनेसेलाई सजिलै ३–० ले हरायो । त्यसमा खभिचा भारास्सेलिया, भिक्टर ओसिमन र इलिफ इलमसले गोल गरे । नेपोलीले लिगमा यो जित हात पारेको यो १९ औं जित हो ।
यससँगै उसको २२ खेलबाट ५९ अंक भएको छ । दोस्रोमा रहेको इन्टर मिलानको २१ खेलबाट ४३ अंक छ । इंग्लिस प्रिमियर लिगमा भने यसको ठीक उल्टो स्थिति बनेको छ । पहिलो हाफमा सम्भव तीन गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ३–१ ले हराएको छ ।
यससँगै उसले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पनि तीन अंकमा घटाएको छ । सिटीको २२ खेलबाट ४८ अंक भएको छ । उसको तुलनामा एक खेल कम खेलेको आर्सनलको ५१ अंक छ । भिल्लाविरुद्ध सिटीका लागि रोड्रि, इलकय गुन्डोगन र रियाद मेहराजले गोल गरे । ओली आटकिन्सनले भिल्लाका लागि एक गोल फर्काए । 

सोमबार १ फागुन २०७९ ११:०१ AM मा प्रकाशित

प्रतिक्रिया