×

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त

images

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

उनलाई उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यसलगत्तै सन्दीपका कानुन व्यवसायी घिमिरेले केन्द्रीय कारागारमा पुगेर सन्दीपलाई अदालतले राखेका शर्तको जानकारी गराएका थिए ।

जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेश बदरको माग गर्दै उनी उच्च अदालत गएका थिए । बिहिबार उच्च अदालतका न्यायधीशद्वय न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजालासले जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको हो ।

गत भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी अभियोगमा सन्दीप असोज २० गते विमानस्थलबाट पक्राउ परेका थिए । धरौटीमा रिहा भएका सन्दीप राष्ट्रिय टिममा फर्किने उनका कानुन व्यवसायी घिमिरे बताउँछन् । थुनामुक्त भएका सन्दीपलाई क्यानले स्वतः कप्तान फिर्ता गर्नुपर्ने अधिवक्ता घिमिरेको जिकिर छ ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।

उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ । आदेशमा भनिएको छ, ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’

शुक्रबार​ २९ पुस २०७९ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया