×

अमेरिकाबाट ल्याएको १० किलो गाँजासहित दुई जना पक्राउ

images

काठमाडौँ- अमेरिकाबाट नेपाल ल्याएको १० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।


ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पक्राउ गरिएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ । यसैबिच ब्यूरोले ग्रिन टी को नाममा नियन्त्रित लागूऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरूको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

शुक्रबार​ २५ कात्तिक २०७९ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया