×

गठबन्धनका सहमति विपरीतका उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम

images

काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ ।

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ उनीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।’मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन्। तर कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन्।


 

मङ्गलबार २५ असोज २०७९ ०६:५८ PM मा प्रकाशित

प्रतिक्रिया