×

एमालेको आडमा कर्तुत ढाक्न खोजेका सांसद सुनिल शर्मालाई चोख्याउने ध्याउन्नमा कांग्रेस

images

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका बहालवाला सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनी हिजो (बिहीबार) दिउँसो काठमाडौं गोल्फुटारबाट पक्राउ परेका हुन् । 

यहीँ साउन १० गते बसेको संसद् बैठकमा सांसद शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । उनले संसद् बैठकमै मन्त्रीद्वयको क्विन्टल सुन तस्करमा प्ररोक्ष संलग्नता रहेको भन्दै राजीनामाको माग गरेका थिए । 

उनले घुमारो शैलीमा भनेका थिए– कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ र मन्त्रीद्वयले राजीनामा दिनुपर्छ । यतिमात्रै होइन, उनले संसद्भित्रै आमरण अनसन बस्ने चेतावनीसमेत दिएका थिए । 

विवादास्पद अभिव्यक्ति र चेतावनीको १६ दिनभित्रै शर्मा पक्राउ परेका छन् । प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको भन्दै कांग्रेस सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

उनी पक्राउ परेको दुईदिन भईसक्दा पनि कांग्रेसले कुनै आधिकारिक निर्णय गरेको छैन । शर्माको पक्राउबारे कांग्रेसलाई जानकारी भईसकेको महामन्त्री विश्वप्रकाश शर्माले ई–सञ्चारपाटीलाई जानकारी दिए ।

उनको पक्राउ प्रकरणले कांग्रेसभित्र उथलपुथलको अवस्था सिर्जना भएको स्रोत बताउँछ । यद्यपि बाह्य रूपमा भने हालसम्म त्यस्तो देखिएको छैन । पार्टीभित्रको संस्थापन र इतर समूहले शर्माको पक्राउ प्रकरणबारे मुख खोलेका छैनन् । आफू निकट नेता पक्राउ पर्नुमा डा.शेखर कोइरा–महामन्त्री गगनकुमार थापा (इतर समूह)ले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन भने संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा समूहले पनि मौनता साधेको छ । 

आज बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्नो पार्र्टीका सांसद पक्राउ पर्नु अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । शर्माको पक्राउ अप्रत्यासित भएकोले यसबारे छलफल गरेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेस सचेतक रमेश लेखकले बताए । 

उनको पक्राउबारे अध्ययन र सघन छलफल भइरहेको छ । यसर्थ तत्काल भन्न नसकिने लेखक बताउँछन् । कांग्रेस संसदीय दलको बैठक आइतबार १२ः३० बजे पुनः बस्ने बताईएको छ । आज बसेको बैठकमा केही सांसदले धारणा राखेका छन् भने आइतबारको बैठकमा बाँकी सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम सकिनेछ । उनीहरूको धारणा र शर्माको पक्राउ प्रकरणबारे अध्ययन गरेर मात्रै पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए । 

हिजो सुनिल शर्मा पक्राउ परेको केही समयमै सभापति देउवा निवास धुम्बाराहीमा कांग्रेसको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । तर, उसले आज बस्ने संसदीय दलको बैठकबाट निष्कर्ष निकाल्ने बताएको थियो । आजको बैठकले आइतबार बस्ने संसदीय बैठकबाट मात्रै निष्कर्षमा पुग्ने धारणा बनाएको छ । 

उता प्रहरीले शर्माको नक्कली शैक्षिक प्रमाणपत्र पाईएकोले पक्राउ गरेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेरबहादुर कडायतले भने, शर्माको प्रमाणपत्र नक्कली भएको एक वर्ष अगाडि नै पत्ता लगेको थियो । ब्युरोले अहिले नक्कली प्रमाणपत्र भएका चिकित्सकमाथि अपरेसन चलाइरहेको छ । सोही अपरेसनको पहिलो आरोपी उनी बनेका छन् । शर्माकै मिल्दोजुल्दो प्रकरणमा अन्य थप आठ जना चिकित्सक पनि पक्राउ परेका छन् । 

सांसद शर्माले संसद् बैठकमा क्विन्टल सुन तस्कर प्रकरणबारे सत्तापक्षकै मन्त्री र सांसदहरूको खुलेर विरोध गरेका थिए । उनले विभिन्न सार्वजनिक कार्यक्रम तथा सञ्चार माध्यमहरूमा विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए । सत्तापक्षकै सांसदले सत्ताको विरोध गर्नु, एमालेसँग बोलीको लोली मिलाउनु उचित नभएको भन्दै कांग्रेसभित्रै शर्माको विरोध भएको थियो । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । तथापि सत्तापक्षले उक्त समिति गठन गर्न नहुने तर्क गर्दै आएको छ । उसले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरिरहेको अवस्थामा उच्चस्तरीय छानबिन समिति गठन गर्न नहुने बताउँदै आएको छ ।

तर, कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा माग गर्दै आएका थिए । ठीक शर्माकै शैलीमा एमालेले पनि यी मन्त्रीद्वयको राजीनामा मागेका थिए । उनले पार्टीको नियम विपरीत खुलेआम बोल्दा पनि सत्तापक्षका दलहरूले कुनै प्रतिक्रिया दिएका थिएनन् । 

बरू एमाले सांसद तथा नेताहरूले शर्मालाई आन्तरिक रूपमा उक्साइरहेको स्रोतको दाबी छ । एमालेको उक्साहटमा उनले संसद् र संसद् बाहिर विवादास्पद अभिव्यक्ति दिँदै आएको सत्तापक्षका सांसदहरूको आरोप छ । उनी काठमाडौं मेडिकल कलेज (सिनामंगल) र नोबेल मेडिकल कलेज (विराटनगर)का सञ्चालक हुन् । शर्मा मोरङबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य पनि हुन् । 

शर्माका शैक्षिक प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट खुलेपछि उनी प्रहरीको निसानामा थिए । तर, आफ्नै पार्टी कांग्रेसमा रक्षात्मक अवस्था सिर्जना नभएपछि प्रतिपक्षी एमालेको आडमा कर्तुत ढाक्न हौसिएको राजनीतिक वृत्तमा चर्चा छ । 

यसको पुष्टि आज बसेको संसद् बैठकमा एमालेले गरेको छ । सांसद ज्वालाकुमारी साहले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएकी छिन् । उनले संसद् बैठकको आरम्भमै विशेष समय लिएर बोल्दै म्याद सकिएको प्रमाणपत्रलाई लिएर अहिले बखेडा झिकिएको आरोप लगाइन् । 

उनले भनिन्– सुनिल शर्माजीलाई पक्राउ गरिएको छ । जसले पटक–पटक सुनकाण्डमा छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहनु भएको थियो । उनलाई कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन, उहिल्यै म्याद सकिएको प्रमाणपत्रलाई देखाएर अहिले बखेडा झिकेर समातिएको छ । यसमा घोर आपत्ति छ । 

शुक्रबार​ २६ साउन २०८० ०६:४८ PM मा प्रकाशित

प्रतिक्रिया