काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान साढे ८ बजे बस्ने तय भएको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।
पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको थियो ।
संविधानका कुनै पनि धारामा विवाद भए त्यसको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको अधिकार र सीमाबाहिर गएर राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको जनाउँदै फरक लिंगको उम्मेदवार हुनुपर्ने धारणा बाहिर ल्याएका छन् ।
आयोगको शुक्रबारको पदाधिकारी बैठकले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने निर्णय गरेको जनाउँदै उनले पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्देशन दिएको धारणा सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया