साथी मैले तिम्रा कविता पढेँ, खूब पढेँ
“मन र आँखा“ ले पढेँ,
मैले मेरो “हृदय“ ले पढेँ
कविताको “स्वाद“ लिएर पढेँ,
मैले कविताको “रस“ पिएर पढेँ
तिम्रा कविता पढेर मलाई
झन् बढी कविताको “भोक“ जाग्यो
कविता अरू पढ्ने “प्यास“ लाग्यो
उत्सुकता अरू बढ्यो
किनभने कवितामा बेग्लै “मिठास“ भेटेँ
तिम्रो अनुभूतिमा मैले आफूलाई
स्वतः अभिव्यक्त भएको पाएँ
कति शब्द “संवेदना छोइने“ भएर बगेको
कति शब्द “मायाको आभास“ भएर पोखिएको
कति शब्द “जिन्दगीको विम्ब“ बनेर लेखिएको
भावनाहरू पोखिनु, शब्दहरू लेखिनु सामान्य कुरा हो
तर त्यसमा “ज्यान“ हुनु
कवितामा “कोमलता“ र “कला“ हुनु
कवितामा खास सुवास हुनु
कवितामा जीवन्तता महसुस गर्न पाइनु
साथी तिम्रो कविताको “शक्ति“ हो ।
तिम्रो सिर्जनाको “क्षमता“ हो
तिमीलाई अनेक–अनेक बधाई छ
शुभकामना र यस्तै–यस्तै अरू
सशक्त काव्यसुधाले तृप्त बनाऊ
तिम्रो कविता म पढिरहन्छु
कविता पढ्ने भोक जगाइरहु ।
जगाइरहु; जगाइरहु !
प्रतिक्रिया