×

लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री नियुक्त हुँदै

images

काठमाडौं । आज तीन प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छन । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेश प्रमुखले आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने छन् । यी तीनै प्रदेशमा दलहरूलाई दाबी पेश गर्न दिएको समय सीमा सकिने भएकोले नयाँ मुख्यमन्त्री नियुक्त हुने निश्चित भएको हो । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन् ।

केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा लीला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । गिरी र रावल एमालेका हुन् भने शर्माले माओवादी केन्द्रका हुन् ।

लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ । यो प्रदेशमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यकता पर्छ ।

प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३र३ सांसद छन् । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् ।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेपछि आज नै प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा लीला गिरीलाई नियुक्त गर्नेछन् ।

यता कर्णालीमा भने बेलुकी ५ बजेसम्म दाबी पेश गर्ने समय रहेको छ । त्यो बेला सम्म माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने छन् ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक र एक जना छन् ।

सुदूरपश्चिममा पनि ५ बजेसम्म दाबी पेश गर्ने समय रहेको छ । यहाँ एमालेका राजेन्द्र रावलले सत्ता गठबन्धनका अन्य तीन दललाई साथमा लिएर निर्धारित समय भित्रै दाबी पेश गर्ने जनाएका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

लुम्बिनी र कर्णालीमा एमाले र माओवादी पाँच पाँच वर्ष सरकारको नेतृत्व गर्ने छन् भने सुदूरपश्चिममा पहिलो चरणमा एमाले र त्यसपछि माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

बुधबार २७ पुस २०७९ १०:०७ AM मा प्रकाशित

प्रतिक्रिया