×

महाधिवेशनको एक वर्ष : फेरियो अवस्था, सुध्रिएन कांग्रेस

images

काठमाडौं । मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्‍यायो । १३औं महाधिवेशनसम्म पदाधिकारीमा ६० वर्ष नाघेका नेताको बोलबाला थियो ।

तर १४औं महाधिवेशनबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री फरमुल्ला मन्सुरबाहेक ६० वर्षमुनिका नेता पनि पदाधिकारीमा पुगेका छन् ।

महामन्त्रीमा पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मुलुकले नै आशा र भरोसा गरेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुगेका छन् । थापा र शर्माको हस्तक्षेपकारी भूमिकाले पार्टीभित्र पछिल्लो पुस्ताको आकर्षण बढ्ने अपेक्षा धेरैको थियो, छ । कार्यकर्ता र शुभेच्छुकले १४ महाधिवेशनपछि संगठन र पार्टी सञ्चालनको तौरतरिकामा परिवर्तन आउने र पार्टीले विगतका गल्ती दोहोर्‍याउने छैन भन्ने अपेक्षा राखेका थिए ।

पार्टी विधि र विधानअनुसार नचलेको भन्दै नेतृत्वलाई खबरदारी गर्ने पुस्ता नै कांग्रेस सञ्चालनको जिम्मेवारीमा पुगेकाले विधि र विधान पालना हुने धेरैको अपेक्षा थियो । महाधिवेशन भएको एक वर्षमा कांग्रेसको आकार, प्रकार र अवस्था फेरिएको छ तर उसको संगठन सञ्चालन गर्ने तौरतरिका पुरानै ढर्रामा छ ।

१४औं महाधिवेशनअघि कांग्रेसले क्रियाशील सदस्यता थप गरेर ४ लाखबाट साढे आठ लाख पुर्‍याएको थियो । पार्टी संगठन व्यापक विस्तार भएको र कांग्रेसप्रति जनताको आकर्षण बढेको प्रचार गरियो । तर महाधिवेशन भएको एक वर्षभित्र भएका तीन तहका निर्वाचनले कांग्रेस संगठन विस्तार होइन, थप कमजोर भएको पुष्टि गरेको छ ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मंसिर ४ मा भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामले पार्टी कमजोर भएको देखाएको छ । आजको नागरिक दैनिकबाट

शनिबार २४ मंसिर २०७९ ०७:३१ AM मा प्रकाशित

प्रतिक्रिया