रसुवामा गएरातिदेखि नै विद्युत् सेवा ठप्प भएको छ । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि जिल्लाको पूरै भागमा विद्युत् सेवा बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लाको कालीका गाउँपालिका–३ मा रहेकाे कटुञ्जेमा रहेको ३७ नम्बर टावरमा समस्या आएको हो ।
विद्युत् आपूर्तिमा समस्या आएपछि काठमाण्डाै ग्रिड महाशाखाबाट मर्मत टोली आउने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीका अनुसार मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने छ ।
जिल्लाको आधा भागमा नुवाकोटको लाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । ६६ केभी लाइनको मर्मत गर्नका लागि मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ ।
जिल्लाको तल्लो भेगमा केही समयमा नै विद्युत् आपूर्तिको व्यवस्था मिलाइने छ । जिल्लाभरि नै आपूर्तिको व्यवस्था मिलाउन भने समय लाग्ने छ ।
प्रतिक्रिया