×

आजदेखि उपत्यकामा मेलम्चीको पानी वितरण

images

काठमाडौ । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । 

खानेपानीमन्त्री उमाकान्त चौधरीले आज महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरण सुरु हुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौं भण्डार केन्द्रका लागि पानी छोडिएको छ । यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरने तयारी रहेको छ ।

यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो ।

सुरुङबाट प्रतिसेकेन्ड करिब पाँच सय लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ । केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक १० करोड लिटर र पछि १७ करोड लिटर पानी वितरण गर्ने योजना छ ।

उपत्यकामा १० वटा ट्याङ्की निर्माण गर्नुपर्नेमा नौवटाको निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा पानी ट्याङ्की निर्माणाधीन अवस्थामा छ । आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण गरिसकिएको छ । ती ट्याङ्कीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ ।

शुक्रबार​ २३ मंसिर २०७९ ०७:४९ AM मा प्रकाशित

प्रतिक्रिया