×

अन्तत: ब्लाटरले पनि माने, कतारबारे निर्णय गलत

images

लन्डन । कतार विश्वकप सुरु हुन धेरै दिन पनि बाँकी छैन्, तर विवादको शृंखला भने रोकिने कुनै छाँट देखिएको छैन् । त्यसमै थपिएका छन्, फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर । उनले सन् २०२२ को विश्वकप आयोजना अधिकार कतारलाई दिनु भुल भएको बताएका छन् । संयोग कस्तो भने सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको अधिकार दिंदा ब्लाटर फिफाका अध्यक्ष थिए ।

समलिंगी सम्बनध, मानव अधिकार र आप्रवासी कामदारप्रति कतारको दृष्टिकोणलाई लिएर यस खाडी देशको चर्को आलोचना हुँदै आएको छ । कतारमा समलिंगी सम्बन्ध कानुनले प्रतिबन्ध छ भने मानवअधिकारको स्थिति कमजोर मानिन्छ । यस्तै कतारले आप्रवासी कामदारप्रति श्रम शोषण गरेर अन्याय गरेको मानिन्छ ।

ब्लाटरले स्विस पत्रिका टागेस एनजेगरलाई लिएको अन्तर्वार्तामा भनेका छन्, ‘कतार निकै साना देश हो, फुटबल र विश्वकप यो भन्दा निकै ठूलो छ ।’ विश्वकपको ९२ वर्ष लामो इतिहासमा यो प्रतियोगिताको आयोजना गर्ने कतार पहिलो मध्यपूर्वको देश हो । यस्तै विश्वकप पहिलो पल्ट जाडोको समय नोभेम्बर डिसेम्बरको महिनामा हुँदैछ ।   

फिफाको कार्यकारी कमिटीमा भएको त्यो बेलाको मतदान कतारको पक्षमा १४–८ रहेको थियो । कतारले १२ वर्ष अगाडिको त्यस मतदानमा अमेरिकालाई हराएको थियो । आफूले अमेरिकाको पक्षमा मतदान गरेको दाबी गर्दै ब्लाटरले कतार विजयी रहनु पछाडि युरोपेली फुटबल महासंघका तात्कालीन अध्यक्ष मिचेल प्लाटिनी जिम्मेवार रहेको आरोप पनि लगाए । 
 

बुधबार २३ कात्तिक २०७९ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया