कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानुनको संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको हो । उहाँले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताउनु भयो । उहाँले लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानुनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानुन परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।
‘निर्वाचन सम्बन्धी केही कानुनको गृहकार्य जारी छ । निर्वाचन आयोगले पनि त्यसमा काम गरिरहेको छ' उहाँले भन्नुभयो , 'लैंगिक समानता र समावेशिताको प्रतिकुल रहेको नेपालका कानुनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको, परिमार्जन गर्दै आएको र अहिले पनि परिमार्जन, संशोधन र पुनरावलोकन गर्ने काम जारी रहेको कारणले गर्दा आवश्यक कानुनमा परिमार्जन गर्दै जाने नेपाल सरकारको नीति रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।’
मन्त्री शर्माले नेपालको कानुनले समावेशीकरण र समानताको कुरालाई अंगिकार गरेकाले कानुनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले महिलाहरुलाई समान रुपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले सन् २०३० सम्म संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र पालिकामा ४२ प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो । सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरु पनि प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया