×

राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन काठमाडौँमा

images

राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पाशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ । राप्रपा नेपाल आबद्ध महासङ्घले आयोजना गर्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका धार्मिक प्रतिनिधि सहभागी हुने जनाइएको छ । 

सम्मेलनमा ‘सनातन हिन्दू राष्ट्र अवधारणा र औचित्य’, ‘सनातन धर्म र सामाजिक सास्कृतिक विभेद’, ‘वर्तमान अवस्थामा वैदिक सभ्यताको महत्व’ र ‘धर्मान्तरणका चुनौती र समाधानका उपायहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङ, धार्मिक प्रतिनिधि डा चन्द्रकुमार शेर्मा, मोहनरुम्बा लामा, धार्मिक अध्येता डा निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा विष्णु भण्डारीले मुलुकमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न विभिन्न धर्मका दर्शन, साहित्यको महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गर्ने मार्गचित्रलगायत विषय पारित गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीका अनुसार सम्मेलनमा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दूत्व अभियानमा जोडिएका धार्मिक अगुवा, लेखक, बुद्धिजीवी,  ॐ कार परिवारआबद्ध व्यक्तित्वहरूको सम्मेलनमा सहभागिता रहने छ । सम्मेलन व्यव्स्थित र प्रभावकारीपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको छ ।

शनिबार २५ असार २०७९ ०७:५४ PM मा प्रकाशित

प्रतिक्रिया