×

राष्ट्रपतिको निर्वाचन आज, देशले तेस्रो राष्ट्रपति पाउँदै

images

काठमाडौं । गणतन्त्र स्थापनापछि देशले आज चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति चयन गर्न आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । मतदानलगत्तै साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले प्रमाणपत्र तत्कालै दिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

‘बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । मतदानपछि साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले तत्कालै प्रमाणपत्र दिनेगरी तयारी रहेको छ ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी ८ सय ८२ जना मतदाता कायम भएका छन् । मतदानका लागि प्राविधिक, जनशक्ति र अन्य व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेशसभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् । उनीहरू दुवै जना पूर्वसभामुखसमेत हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझसम्म परिणाम घोषणा गर्ने तयारी गरेको छ ।

बिहीबार २५ फागुन २०७९ ०८:११ AM मा प्रकाशित

प्रतिक्रिया