×

स्ववियु निर्वाचन- १ लाख ७० हजारले मतदान गर्दै

images

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् ।

सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसपछि दोस्रोमा वीरगञ्जस्थिति ठाकुरराम क्याम्पसमा १० हजार २ सय ६२ ले मतदान गर्नेछन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्याङ्कअनुसार धेरै विद्यार्थी भएका क्याम्पसको सूचीको तेस्रोमा शंकरदेव क्याम्पस रहेको छ । सो क्याम्पसका ८ हजार ४ सय ९० जना विद्यार्थीले मतदान गर्दैछन् । नेपाल कमर्स क्याम्पसमा ८ हजार ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९, बुटवल बहुमुखीमा ७ हजार १ सय ९, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ५ हजार ७ सय ४८, महेन्द्र बहुमुखी क्याम्पस इलाममा ५ हजार ५ सय ९१, पद्मकन्या क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थीले मतदान गर्ने भएका छन् ।

यसैबीच भर्नाको विषयमा विवाद उत्पन्न भएको कारण त्रिचन्द्र क्याम्पसमा मतदाता सूची प्रकाशन गर्न कठिन भएको छ । सो क्याम्पसमा करिब ८ हजार विद्यार्थीले मतदान गर्ने आंकलन गरिएको छ । मतदाता सूची प्रकाशन गर्नु केही दिनअघि नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले मनपरी भर्ना गरेका कारण समस्या परेको अन्य विद्यार्थी संगठनको आरोप छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष समिक बडालले फागुन १६ र १७ गते नेविसंघले मनोमानी रूपमा भर्ना गरेका कारण मतदाता सूची प्रकाशन गर्न समस्या भएको बताए । उनले भने– ‘हामीले फागुन ४ गतेभित्र भर्ना गरेकाहरूलाई मात्र मतदातासूचीमा समावेश गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेका छौं, त्यसो नगरे नेविसंघबाहेक सबै विद्यार्थीले आन्दोलन गर्नेछन् ।’

त्यस्तै, उपत्यका बाहिरबाट सिरहा, राजविराज र विराटनगर र लमजुङ कृषि क्याम्पसको तथ्याङ्क आएको छैन ।सबै क्याम्पसको तथ्याङ्क जोड्दा करिब १ लाख ७० हजारको हाराहारीमा मतदाता हुन सक्ने आंकलन गरिएको छ ।’ नेपाल समाचार दैनिकबाट

बिहीबार २५ फागुन २०७९ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया